काठमाडौँ । निर्वाचन आयोगले पर्सामा निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई सुरक्षा दिन प्रहरीलाई पत्र पठाएको छ ।
अधिकृतका रूपमा खटिएका प्रमुख कोष नियन्त्रक रूद्रबहादुर कार्कीलाई सुरक्षा दिन आयोगले जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्र पठाएर निर्वाचन अनुगमन अधिकृत कार्कीलाई सुरक्षा दिन भनेको हो। कार्कीलाई पर्सा क्षेत्र नम्बर ४ प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका नेपाली कांग्रेसका रमेश रिजालले धम्की दिएको आरोप छ।
निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २० को उपदफा (१) को खण्ड (घ) अनुसार निर्वाचनमा संलग्न कर्मचारीलाई धाक, धम्की वा डर, त्रास देखाउन हुँदैन। सोही ऐनको उपदफा (४) मा त्यस्तो कसुर गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।