जनकपुरधाम — मधेश प्रदेशमा गुटखा (पानपराग लगायत) को उत्पादन, बिक्री तथा प्रयोगमाथि प्रतिबन्ध लगाउन माग गर्दै राष्ट्रिय एकता दलले प्रदेश सरकारसमक्ष ज्ञापनपत्र पेश गरेको छ।
राष्ट्रिय एकता दलका तर्फबाट प्रदेश इन्चार्ज मनीष पुर्बेले मुख्यमन्त्रीलाई सम्बोधन गर्दै बुझाएको उक्त ज्ञापनपत्रमा मधेश प्रदेशमा गुटखा सेवनको अवस्था भयावह बन्दै गएको उल्लेख गरिएको छ। दलका अनुसार विभिन्न ब्रान्डका गुटखाको उत्पादन, बिक्री तथा उपभोग अत्यधिक रूपमा बढ्दै जाँदा यसले जनस्वास्थ्यमा गम्भीर असर पारिरहेको छ।
ज्ञापनपत्रमा विशेषगरी युवावर्गमा गुटखा सेवनको लत तीव्र रूपमा फैलिँदै गएको र यसकै कारण मुख, घाँटी लगायतका अंगमा क्यान्सर जस्ता घातक रोगको जोखिम बढेको उल्लेख गरिएको छ। यसबाट हजारौं परिवार आर्थिक, सामाजिक तथा मानसिक समस्यामा परेको र समग्र प्रदेशको मानव स्रोत तथा उत्पादकत्वमा नकारात्मक प्रभाव परेको जनाइएको छ।
राष्ट्रिय एकता दलले सरकारसमक्ष पाँच बुँदे माग अघि सारेको छ। जसअन्तर्गत गुटखाको उत्पादन, आयात, बिक्री तथा वितरणमा पूर्ण प्रतिबन्ध लगाउने, अवैध आयात तथा ओसारपसार नियन्त्रण गर्न कडाइका साथ अनुगमन गर्ने, जनचेतनामूलक अभियान सञ्चालन गर्ने, गुटखा-सम्बन्धित रोगबाट प्रभावित नागरिकलाई सहुलियत उपचार तथा बीमा व्यवस्था गर्ने र तत्काल प्रतिबन्ध सम्भव नभए कडा कर तथा नियमन लागू गर्ने माग गरिएको छ।
दलले प्रदेश सरकार जनस्वास्थ्यप्रति संवेदनशील रहँदै यस विषयमा छिटो र प्रभावकारी निर्णय लिने विश्वास समेत व्यक्त गरेको छ। ज्ञापनपत्र २०८२ चैत ११ गते पेश गरिएको जनाइएको छ।












