काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व खेलाडी शक्ति गौचनले जिल्ला क्रिकेट संघ रुपन्देहीको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
शक्तिले सामाजिक संजालमार्फत सम्वोधन गर्र्दै अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । स्थानीय शक्तिले जिल्लालाई क्रिकेटमा उत्कृष्ट जिल्ला बनाउने लक्ष्य लिएको बताएका छन् ।
उनले भनेका छन्, ‘क्रिकेट खेल र खेलाडीको निमित्त नयाँ सोच, नयाँ भिजनका साथ रुपन्देहीलाई क्रिकेटमा उत्कृष्ट बनाउने लक्ष्य लिएर रुपन्देही जिल्ला क्रिकेट संघको अध्यक्ष पदमा उम्मेदवारी दिंदैछु ।’ भैरहवामा एकेडेमीसमेत चलाएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेटमा शक्तिले कतिपय खेलमा महत्वपूर्ण भूमिका निभाउँदै टिमलाई जिताएका थिए । सन् २००१ देखि नेपाली राष्ट्रिय क्रिकेट टिममा (यू–१७) खेलेका शक्तिले सन् २०१८ मा संन्यास लिएका थिए । शक्तिको हाँसो जादूमय छ । कुनै समय हालका कप्तान सन्दीप लामिछानेले शक्तिबारे भनेका थिए, ‘उनले हाँसोबाटै सबैलाई मार्न सक्छन् । नामले पनि शक्ति द पावर ।’
प्रशासनमा हात हाल्ने इच्छा राखेका शक्तिको हाँसोको जादू चल्यो भने साँच्चै रुपन्देही उत्कृष्ट जिल्ला बन्न बेर छैन । उनी आफ्नो खेल करियरमा सायदै कसैसँग रिसाए ।
अग्ला कदका उनको मनको छाती पनि फराकिलो नै भएको उनका साथीहरु चर्चा गर्ने गर्छन् । नेपाली क्रिकेट बुझेका उनले जिल्ला हाँक्न सक्ने ल्याकत राख्छन् । रुपन्देही जिल्लाको निर्वाचन आगामी माघ ५ गते हुँदैछ ।











