काठमाडौं । समाजसँग आफ्नो अधिकारको लागि लड्ने एक महिला, जसले आफ्नो जिन्दगीको सपना गर्न पाइनन्, तर कहिल्यै हार पनि मानिनन् । यस्ती थिइन् गंगुबाई… गंगुबाई काठियावाडी ।
गंगा जगजीवनदास काठियावाड नाम थियो उनको । रमणीक नामको युवकसँग उनले प्रेम गरेकी थिइन् । फिल्मको हिरोइन बन्ने सपना थियो गंगाको । रमणीकले मुम्बई गएर हिरोइन बन्न सकिने सपना देखाएर उनलाई एक हजार रुपैयाँमा कोठीमा लगेर बेचिदियो । केही दिन त उनी त्यही अँध्यारो गल्लीको कोठामा भोकै प्यासै बसिन् । तर भोकले सीमा नाघ्न थालेपछि त्यसकै लागि पनि बाध्य भएर उनी बाहिर आउनुपर्छ । आफ्नो शरीर ग्राहकलाई सुम्पिनुपर्ने धन्दा गर्न उनी बाध्य हुनुपर्छ ।
त्यसपछि ग्राहकहरुले उनलाई गंगा होइन गंगु नाम दिन्छन् । अर्थात् गंगाले गंगु बनेर आफ्नो पुरानो जिन्दगीलाई बिदा दिनुपर्ने हुन्छ । जीवन अगाडि बढ्दै जाँदा अलग–अलग प्रवृत्तिका मानिसहरुसँग भेट हुँदै जान्छ, तिरस्कार पनि मिल्छ, माया र सम्मान पनि ।
गंगुले रेडलाइट एरियाका चार हजार महिला र बच्चाका लागि जिन्दगीभर लडाइँ लडिन् र जितिन् पनि । यही नै हो ‘गंगुबाई काठियावाडी’को कथाको सार ।