आधुनिक चेतना, वैज्ञानिक सोच र मानवीय मूल्यको महत्वका बारे जानकार एक्काइसौं शताब्दीको मानव पाँच हजार वर्ष पुराना नियोजित उद्देश्यहरूद्वारा रचित र परिकल्पित अवैज्ञानिक विचारहरूसँगै सती पनि जानुहुँदैन ।
नेपाल खाल्डोमा लिच्छवि वंशको शासन प्रारम्भसँगै वर्णमा आधारित जात व्यवस्था भित्रिएको मानिन्छ । वैधानिक रूपमा भने मल्लकालीन राजा जयस्थिति मल्लले चौधौं शताब्दीको आरम्भमा नेवार समुदायमा वर्णाश्रम व्यवस्था लागु गरेसँगै सुरु हुन्छ । त्यसपश्चात् गोरखाका राजा राम शाह (सन् १६०५–१६३६) ले वर्ण व्यवस्थालाई मजबुत पार्ने उद्देश्यले चार वर्ण छत्तीस जातलाई कठोरतापूर्वक लागु गरेको इतिहास भेटिन्छ ।
श्री ३ राणा प्रधानमन्त्री जङ्गबहादुरले वि.सं. १९१० को मुलुकी ऐनमार्फत जात व्यवस्थासँगै छुवाछूत प्रथालाई थप व्यवस्थित गरी अनिवार्य रूपमा लागु गरेसँगै छुवाछूत प्रथा नेपाली समाजको एक मुख्य (कु)संस्कृतिको रूपमा विकास हुनपुग्यो ।
खासमा तत्कालीन सत्तासीन शासकहरूले ‘विष्णु भगवानको शिर, पाखुरा, जाँग र पाउबाट क्रमशः ब्राह्मण, क्षत्री, वैश्य र शूद्र वर्णको जन्म भएको’ भन्ने भ्रमपूर्ण मान्यताको विकास र विस्तार गराए । उसैगरी राज्यसत्ता, शक्ति र स्रोतको दुरुपयोग गरी नियोजित हिसाबले रचिएको वर्णाश्रम व्यवस्थालाई विस्तार गर्दै निश्चित समुदायलाई नियन्त्रणमा राख्ने सोच मुताविक छुत–अछूत प्रथा निर्धारण गरे ।
त्यससँगै पद–प्रतिष्ठा, पहुँच र शक्तिमा रहेको समुदायलाई आकर्षक र पहुँचविहीन एवं शक्तिहीन समुदायलाई सबैभन्दा अनाकर्षक पेशा वा कर्म जबर्जस्त भिडाउने काम हुँदै आयो । दलित समुदायले अँगाल्दै आएका तुलनात्मक रूपमा आम्दानीका दृष्टिले कम आकर्षक मानिने, श्रमका हिसाबले बढी गाह्रो ठानिने र सामाजिक रूपमा हेयको दृष्टिले हेरिने पेशा त्यही तत्कालीन उच्च जातीय सत्ताको ‘बाध्यकारी उपहार’ हुन् ।











