काठमाडाैं : जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र कम्युनिष्टहरू संघीयताको पक्षमा नरहेको आरोप लगाएका छन्। संघीय लोकतान्त्रिक मोर्चाले जनकपुरधाममा शुक्रवार आयोजना गरेको वर्तमान राजनीतिक अवस्था: जनजागरण अभियानलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।
यादवले अहिले सबैभन्दा बढी संकटमा संघीय लोकतान्त्रिक गणतन्त्र रहेको बताए। कांग्रेस र कम्युनिष्टको कारण नै संघीयता संकटमा रहेको उनको आरोप छ । कहिले पनि कांग्रेस संघीयताको पक्षमा नरहेको र नेपालमा वास्तविक कम्युनिष्टहरू नरहेको बताउँदै कम्युनिष्टको साइनबोर्ड लगाएर सबै कमाउने र अवसरवादीको जमात जम्मा भएको आरोप उनकाे छ।
‘संघीय लोकतान्त्रिक गणतन्त्र सबैभन्दा धेरै संकटमा छ । धरापमा छ । कांग्रेस र कम्युनिष्टको कारण हो । कहिले पनि कांग्रेस संघीयताको पक्षमा छैन । कहिले पनि नेपाली कांग्रेस गणतन्त्रको पक्षमा थिएन । बहुदलीय प्रजातन्त्र, संवैधानिक राजतन्त्र कांग्रेसको मूल मन्त्र’, अध्यक्ष यादवले भने, ’कम्युनिष्टहरू नेपालमा वास्तवमा छँदै छैनन् । न सिद्धान्तमा कम्युनिष्ट, न विचारमा, न आदर्शमा, न चरित्रमा । कम्युनिष्टको साइनबोर्ड लगाएर सबै कमाउने र अवसरवादीको जमात हो । जो कहिले पनि नेपालमा संघीयता र समावेशिताको पक्षमा छैनन् । अहिले दुवै मिलेर सबैभन्दा धेरै प्रहार संघीयतामाथि गरिरहेका छन् ।’