जनकपुरधामको एक निजी अस्पतालमा उपचार खर्च तिर्न नसक्दा एक युवक २४ दिनदेखि बन्धक बनेका छन् । जनकपुरधामको ब्रह्मपुरी स्थित मधेश प्रदेश प्रहरी कार्यालयको सामुन्ने रहेको कृष्णा मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टर अस्पतालमा २२ वर्षीय रामविनय महरा २४ दिनदेखि बन्धक बनेका हुन् ।
उपचार खर्च तीनलाख रुपैयाँ घरपरिवारले बुझाउन नसक्दा गत चैत २२ गते नै अस्पतालले डिस्चार्ज गरेका उनी घर जान पाएका छैनन् । गत चैत १४ गते साँझ मोटरसाइकल दुर्घटनामा घाइते उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना गरिएको थियो । केहीबेर पछि प्रादेशिक अस्पतालबाट उनको आफन्तलाई नै जानकारी नदिइ जनकपुरकै कृष्णा मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टर अस्पतालमामा भर्ना गरिएको थियो । आठदिन पश्चात गत चैत २२ गते नै अस्पतालले उनको डिस्चार्ज गरिसकेको छ ।
‘उहाँ उपचार पश्चात पूर्णतः निको भइसक्नु भएको छ । चैत २२ गते नै उहाँको डिस्चार्ज पनि भइसकेको छ’ आइसियुमै भेटिएका एक चिकित्सकले भने ।
तर, डिस्चार्ज भएकको आज २४ दिन भएपनि दलित तथा विपन्न महरा परिवार उपचार खर्च बुझाउन नसक्दा रामविनय अस्पतालको आइसियुमै बन्धक बनेका छन् । तर पनि अस्पतालले उनलाई बाहिर न निकाली आइसियुको उपचार खर्च थप्दै लगेको रामविनयकी आमा प्रमिला देवीले गुनासो गरिन् ।
डिस्चार्ज हुने दिनसम्म उनको उपचार खर्च फार्मेसी बाहेक झण्डै ३ लाख थियो । जनेतेन चन्दा तथा ऋण उठाएर अस्पतालको ५० हजार र फार्मेसीको ४० हजार गरी ९० हजार तिरेको आमा प्रमिला बताइन् ।
‘चन्दा उठाबएर अस्पतालको ५० हजार र फार्मेसीको ४० हजार तिरेको छु’ आमा प्रमिला भन्छिन् ‘हामीसंग बेचेर दिने सम्पति छैन । गाउँघरमा कसैले ऋण दिँदैन, कहाँबाट रुपैयाँ ल्याउने, कसरी छोरालाई अस्पतालबाट निकाल्ने ? झन् आइसियुमा राखेर बिल थपिरहेको छ ।’
अस्पतलको लेखा काउन्टर कर्मचारीका अनुसार उनको आइसियुको बिल थपिनै रहेकोले तीन लाखभन्दा माथि छ । ‘आइसियुको बिल जोड्न बाँकी छ । उहाँको उपचार खर्च ३ लाख भन्दा माथि नै रहेको छ’ लेखामा कार्यरत्त ती कर्मचारी भने ।
पूर्ण रुपमा ठीक भइसकेका रामविनय आइसियुमै बस्दा वाक्क दिक्क छन् । ‘म पुरै ठीक भइसकेको छु । स्वास्थ्यमा अब केही समस्या छैन । त्यत्रो उपचार खर्च तिर्ने मेरो परिवारको हैसियत छैन’ रामविनयले भने ‘बेडमा वाक्क दिक्क भइसकेको छु । सबैले सहयोग गरेर मेरो उद्धार गरिदिन आग्रह गर्छु’
छोरालाई उपचार खर्च तिरेर अस्पतालबाट निकाल्न रामविनयका बुबा पंचु महरा र आमा प्रमिला भौतारिरहेका छन् । महरा परिवारको सम्पतिको नाममा केवल दुईधुर घडेरी र त्यसमा घर बाहेक केही छैन । जनमजदुरी गरेर महराको परिवार चल्छ । तर, छोरा अस्पतालमा बन्धक बन्दा दिनभर उनीहरु चन्दा संकलनसंगै पहल गरिदिन नेता, जनप्रतिनिधि, दलित अगुवा, भरभलादमीको दैलो चहारिरहेका छन् । २४ दिनदेखि बुबा पञ्चु र आमा प्रमिलाको यो दैनिकी बनेको छ । झन् आइसियुमा राखेको आर्थिक बोझ थपिँदै जाँदा बेचैनी बढ्दै गएको छ महरा परिवारको छ । आइसियुबाट निकालदिन बिलौना गर्दा अस्पताल संचालक मान्दैनन् ।
‘ठीक भइसकेको छ । कम्तिमा आइसियुबाट बाहिर निकालिदिनुस् भनेर संचालकसंग हात जोडेर बिन्ती गरे । तर मान्नु भएन । भन्नु हुन्छ जब सम्म सबै पैसा तिदैन तबसम्म जान दिन्न । आइसियुको पनि सबै पैसा तिर्नु पर्छ भनेर ’ आमा प्रमिला दुखेसो गर्छिन् । अस्पतालमा रामविनयकी श्रीमती मनिषा एक महिनादेखि कुरुवा बसेकी छन् । श्रीमानलाई सहयोग गरि निकालिदिन उनको आग्रह छ । होलिको एकदिन अघि मात्र मजदुरी गर्न भारतको मुम्बइ गएका रामविनय र मनिषा घर फर्केका थिए ।
सबै पैसा नबुझाए अस्पतालबाट जान दिन्न भन्ने अस्पतालको अडान छ । अस्पतालका इन्चार्ज देवेन्द्र यादवले अस्पतालले उपचार गरिदिएको र शुल्क बुझाएर लग्न भन्दा नलगेको बताए ।
अस्पताल संचालक रामपृत यादवले आफ्नो छोरीको विवाह हिजो मात्रै सकेकाले सबै अस्तव्यस्त रहेको र यसविषयमा पछि मात्र केही भन्न सकिने बताए ।
भारतको मुम्बईबाट घर फर्केका रामविनय भोलितिर साँझ छिमेक रामकिसुनको रामको ज १२ प ३४६५ नम्बरको मोटरसाइकलमा बाहिर निस्केका थिए । धनुषाको औरही प्रहरी चौकीका इन्चार्ज सई हेमबहादुर कुवरका अनुसार चैत १४ गते साँझ ७ बजेर ५० मिनेटमा मोटरसाइकल अनियन्त्रित भएर धनुषाको औरही गाउँपालिकाको कप्टौल भन्ने ठाउँमा दुर्घटना भएको थियो । रामविनय घाइते भएका थिए भने रामकिसुन समान्य चोटपटक लागेको थियो । प्रहरीले रामविनयलाई प्रहरीले उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठायो ।
प्रादेशिक अस्पतालबाटै केहीबेर पछि रेफर गरियो । दुर्घटनाको खबर पाएका घरपरिवार प्रादेशिक अस्पताल पुग्दा उनलाई एम्बुलेन्समा राखेर उपचारको लागि कृष्णा मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टर अस्पतालमा लगेको जानकारी पाए । ‘सुन्ने बितिकै हामी प्रादेशिक अस्पताल पुग्यौं । हामी पुग्दा त्यहाँबाट रेफर गरेर कृष्णा मेडिकलमा पठाएको जानकारी भयो । किन यो अस्पतालमा पठायो, कसले ल्यायो हामीलाई अहिलेसम्म केही थाहा छैन’ आमा प्रमिलाले भनिन् ।

यता प्रादेशिक अस्पतालका निर्देशक डा. रामनरेश पण्डितले न्यूरो सम्बन्धि डाक्टर प्रादेशिकमा नरहेकाले बाहिर रेफर गरेको हुन सक्ने बताए । मधेश सरकारको स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको सबभन्दा ठूलो प्रादेशिक अस्पताल जनकपुरमा दुईवर्ष अघि नै न्यूरो सम्बन्धि अपरेशन थिएटरको उदघाटन भएको थियो । तर अहिलेसम्म न्यूरो सम्बन्धि उपचार जनशक्ति अभावले सुरु गर्न नसकेको निर्देशक पण्डितले बताए । यस्तो अवस्थामा त्यहाँ अकास्मिक सेवामा केही चिकित्सकले कमिसनको लागि नाम किटेरै निजी अस्पतालमा बिरामी रेफर समेत पठाउने गरेको आमजन गुनासो छ ।
दुर्घटनामा परेको मोटरसाइकल औरही चौकीमा प्रहरीले ४० हजार मात्र उपचार खर्च दिएर आफ्नो पति पञ्चुसंग समझदारी गरेर प्रहरीले छाडिदिएको उनको गुनासो छ । ‘मेरो छोरा पछाडि चढेर गएको थियो । दुर्घटना हुँदा गाडीबालाले उपचार खर्च व्यहोर्नु पथ्र्यो । तर मेरो पतिलाई प्रभावमा पारेर ४० हजारमै मिलापत्र गराइदियो । प्रहरीले मोटरसाइकल छाडिदियो’ उनले गुनासो गरिन् ।
यता सई कुवरले उनीहरु आफै समझदारी गर्दा मोटरसाइकल फिर्ता दिएको बताए ।











