राजविराज । नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सल्लाहकार मनोहरकुमार पोखरेलमाथि जिल्ला प्रहरी कार्यालयमा कार्यरत एक जना प्रहरी सहायक निरीक्षक (असई) राजेश्वर महताेले जिल्ला प्रहरी कार्यालय सप्तरीभित्रै कुटपिट गर्दै दुव्र्यवहार गरेका छन् ।
यता नेपाल पत्रकार महासंघ, सप्तरीले कुटपिट गर्ने असईलाई कार्वाहीको माग गरेको छ ।
घटनाबारे जानकारी पाएर नेपाल पत्रकार महासंघका एक टोली जिल्ला प्रहरी कार्यालय सप्तरी पुगेर प्रहरी प्रमुख एसपी नरेन्द्र कार्कीलाई पत्रकार पोखरेलमाथि कुटपिट गर्ने असई महतोमाथि कारबाही गर्न माग गरेका छन् ।
घटना सम्बन्धमा प्रहरी प्रमुख एसपी कार्कीले जिल्ला प्रहरीको तर्फबाट क्षमायाचना गर्दै कुटपिट गर्ने असई महतोमाथि कानून बमोजिम तीन दिनभित्र कारबाही गर्ने प्रतिबद्धता गरेका छन् । टोली नेतृत्वकर्ता सचिव आरएन विश्वासले तीन दिनभित्र पत्रकार पोखरेलमाथि कुटपिट गर्ने असईमाथि कारबाही नगरिए महासंघ संघर्षमा उत्रिने चेतावनी दिए ।
‘नागरिकलाई सूचित गराउने अधिकार बोकेका सञ्चारकर्मीलाई यसरी जिल्ला प्रहरी कार्यालयमै एक जना असईबाट कुटपिट हुनु भनेको प्रेसमाथिको ठाडो हस्तक्षेप भएको ठहर पत्रकार महासंघको छ’ सचिव विश्वासले जारी गरेको विज्ञप्तीमा भनिएकाे छ, ‘ पछिल्लो केही दिनदेखि सप्तरीका प्रहरी–प्रशासनको तर्फबाट यसरी नै प्रेसविरुद्धको क्रियाकलाप हुँदैगएको छ । यस्ता घटनालाई नियन्त्रण गर्न र संविधानमै उल्लेख भएको पूर्ण प्रेस स्वतन्त्रतालाई कायम गर्न गृह मन्त्रालय समेतको ध्यानाकर्षण गराउन चाहन्छु ।’











