काठमाडौँ — राष्ट्रपति निर्वाचनका लागि मनोनयन गर्न करिब एक साता बाँकी रहँदा प्रमुख गठबन्धनका दुई प्रमुख नेता आमनेसामने भएका छन् । प्रधानमन्त्रीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई समर्थन गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा बिनासर्त एमालेलाई समर्थन गर्न आग्रह गरेका छन् जसलाई प्रधानमन्त्री दाहालले अस्वीकार गरेका छन् ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलका अनुसार ओलीको प्रस्ताव अस्वीकार गर्दै दाहालले राष्ट्रपतिको निर्वाचन राष्ट्रिय सहमतिमै गर्नुपर्ने अडान राखेका छन् । ‘प्रधानमन्त्री र केपीजीले आ–आफ्ना कुरा राख्नुभयो तर सहमति जुट्न सकेन,’ गजुरेलले भने, ‘राष्ट्रिय सहमति अहिलेको आवश्यकता हो । राष्ट्रिय सहमतिमा जाने भनेपछि बल्ल कुन पार्टीबाट को पात्र भन्नेबारे छलफल हुने हो तर कुरा त्यहाँ पुगेको छैन ।’ उनका अनुसार दाहाल र ओलीबीच फेरि छलफल हुनेछ ।
एमाले अध्यक्ष ओली भने सरकार गठनका बेलाको सहमतिअनुसार राष्ट्रपति एमालेले पाउनुपर्ने अडानमा छन् । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने बिहीबार साँझ कान्तिपुरसँग भने, ‘पुस १० को सहमति कार्यान्वयन गर्दै अहिलेको गठबन्धनलाई बलियो बनाएर जानुपर्छ, हाम्रो कुरा स्पष्ट छ, त्यसबाहेक कुनै विकल्प सोचेका छैनौं ।’
राष्ट्रपति एमालेले नपाउने अवस्थामा स्वीकार्य पात्रको खोजी गर्ने विषयमा पनि पार्टीभित्र अप्रत्यक्ष छलफल सुरु भएको ती नेताले बताए । ‘प्रचण्डजीलाई सरकारको सुरक्षाको मात्र चिन्ता छ, हामीलाई गठबन्धन कसरी सुरक्षित राख्ने भन्ने चिन्ता छ,’ उनले भने । वर्तमान सत्ता गठबन्धन भत्काउने रणनीतिअनुरूप दाहालले राष्ट्रिय सहमतिको ‘झमेला’ ल्याएको पनि उनको भनाइ छ ।
ओलीनिकट नेताहरूका अनुसार एमालेले छाड्नुपर्ने अवस्थामा लोसपा अध्यक्ष महन्थ ठाकुर वा एकीकृत समाजवादीका नेता झलनाथ खनालका नाममा पनि एमालेभित्र छलफल भएको छ । केही दिनअगाडि खनालले प्रधानमन्त्री दाहालसँग भेट गरेका थिए । तर, दाहाल भने कांग्रेस सहज हुने नाममा मात्र सहमति गर्ने मनोविज्ञानमा रहेको भन्दै एमालेले आफ्ना विकल्पहरू खुला गरेको छैन ।
दाहालले राष्ट्रपति चयनलाई सरकारको सुरक्षासँग जोडेर हेरेको र यसैका लागि राष्ट्रिय सहमतिको प्रस्ताव अघि सारेको उनीनिकट एक नेता बताउँछन् । दाहालले सरकारको भविष्य सुरक्षित हुने सुनिश्चितता खोजेर राष्ट्रपतिमा कांग्रेससँग सहकार्य गर्न सकिने जनाउ निकट नेताहरूलाई दिएका छन् ।
एक नेता भन्छन्, ‘यो गठबन्धनमा जे–जे एजेन्डा बोकेका दल छन्, उनीहरू कहिलेसम्म एकै ठाउँ हुन्छन् भन्ने अनिश्चितता भयो । यस्तोमा सरकार सुरक्षित हुने आधार खोज्नु अन्यथा भएन । राष्ट्रिय सहमतिको प्रस्तावले त्यस्तो आधार बनाउने विश्वास छ ।’
माओवादी नेताहरूका अनुसार राष्ट्रपति पनि एमालेलाई दिएपछि राज्यको सम्पूर्ण ‘कमान्ड’ ओलीको हातमा हुने र सरकार कठपुतली मात्र हुने आशंकामा दाहाल छन् । बरु, प्रधानमन्त्री दाहाल गठबन्धनबाहिरबाट राष्ट्रपति चयनमा लागे पनि एमालेले तत्काल सरकार नछाड्ने, बरु उपयुक्त समयमा ‘बदलाको कदम चाल्ने’ अनुमान उनको छ । नाटकीय मोडमा दाहाल नेतृत्वमा सरकार बनाउन भूमिका खेलेका एमाले अध्यक्ष ओली र प्रधानमन्त्री दाहालबीच शृंखलाबद्ध भेटवार्ता भइरहेका छन् तर अविश्वास बढ्दै छ । यही बेला कांग्रेसका केही नेताले फागुन १० मा गठबन्धन भत्किने सार्वजनिक अभिव्यक्ति दिएपछि ओली झस्किएका छन् । ईकान्तिपुर











