कपिलवस्तु – नेपाली कांग्रेसका युवा नेता अभिषेक प्रताप शाहलाई मतदाताले जितको शुभकामना तथा आर्शिवाद दिएका छन् । कपिलवस्तु ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शाहलाई आमा, दिदीबहिनी र ज्येष्ठ नागरिकसहित युवा मतदाताले विकासवादी नेताले जित्नुपर्ने भन्दै आर्शिवाद दिएका हुन् ।
शिवराज २ की मतदाता मोना चौधरीले अभिषेक प्रताप शाह विकासवादी नेता भएको बताइन् । भारतसँग सिधा पहुँच भएको, राष्ट्रिय अन्तर्राष्ट्रिय पहिचान भएको, कपिलवस्तु बासीका लागि सीमामा आउने समस्या समाधानमा सिधै प्रभाव राख्ने शाहलाई फेरि जिताएर पठाउने उनले बताइन् । पूर्वाधार विकास र राष्ट्रिय मुद्दामा पनि आवाज उठाउने नेता शाहको नेतृत्वमा आफूहरुले धेरै सुविधा पाएको उनले उल्लेख गरेकी छन् ।
शिवराज ४ मा एक बुढी आमाले अभिषेकलाई आफूले पहिलेदेखि चिन्ने र काम गर्ने नेता भएको बताइन् । उनले अभिषेकलाई भारी मतले विजयी हुन शुभकामना दिइन् । युवा नेता शाहले आफू शिवराज ४ को समस्याबारे जानकार रहेको भन्दै समाधानका लागि विगतदेखि काम गरिरहेको सुनाएका थिए । अन्य मतदाताले पनि उनको नेतृत्वमा भएको कामको स्मरण गरेका थिए ।
शाहले कपिलवस्तु ३ बाट ३२ हजार बढी भोटले जित्ने लक्ष्य राखेका छन् । मतदाताको आर्शिवादले प्रफुल्लित शाहले आफूलाई उत्साहका साथ काम गर्ने प्रेरणा मिलेको बताए । लक्ष्यअनुसार मत पाउनेमा उनी ढुक्क छन् ।