कोलकता । पहिलो इन्डो-नेपाली द्विभाषी चलचित्रको रुपमा निर्माण भएको प्रेम गीत ३ को भारतका मुख्य सहरहरुमा प्रमोसन भइरहेको छ । प्रवर्द्धनका क्रममा कलाकारहरु कोलकाता पुग्दा भव्य स्वागत गरिएको छ । फुलले सजिएको गाडीमा सानदार इन्ट्री भएको थियो ।
प्रदिप खड्का र क्रिस्टिना गुरुङले अभिनय गरेको प्रेम र गीतको प्रेमकथालाई पछ्याइएको यो एक्सन ड्रामा आगामी सेप्टेम्बर २३ मा हलमा रिलिज हुँदैछ । सन्तोष सेनले निर्देशन गरेको र सुभाष काले तथा प्रशान्त गुप्ताले संयुक्त रुपमा निर्माण गरेको फिल्ममा इन्डियन आइडल १२ का विजेता पवनदीप राजनले संगीत दिएका छन् ।
उनी पनि फिल्मको प्रमोसनमा सक्रिय छन् । चलचित्रको प्रमोशनका क्रममा शुक्रबार कलाकारहरु कोलकाताको भिक्टोरिया मेमोरियल पार्क पुगेका थिए । यो फिल्म प्रेम गीत फ्रेन्चाइजको फलोअप हो, जसले अहिलेसम्म दुईवटा ब्लकबस्टर – प्रेम गीत १ र २ निर्माण गरिसकेको छ ।
भारतका अन्य सहरमा पनि फिल्मको प्रमोसन भइरहेको छ । बलिउड स्टार गोविन्दा, मनिषा कोइरालाले प्रमोसनमा सघाइरहेका छन् । बलिउड कलाकारले पनि फिल्मलाई चाखलाग्दो हिसाबमा इन्तजार गरिरहेका छन् ।
भारतीय फिल्म विश्लेषकले नेपालमा बनेर भारतमा हिन्दीमा भाषामा प्रदर्शन हुने यो पहिलो फिल्म भएको र यसले दुई देशको सम्बन्धलाई अझै प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् ।

















