सिरहा । सिरहाको मिर्चैया नगरपालिकामा मूख्य दलमा देखिएको विवादले नेपाली कांग्रेसलाई फाइदा हुने देखिएको छ । यहाँको मुख्य प्रतिस्पर्धी दल माओवादी केन्द्र र जसपामा चरम आन्तरिक विवाद छ ।
मिर्चैया नगरपालिकाको अहिले नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र दुई खेममा विभाजित छ । माओवादीमा यहाँ एउटा गुटको नेतृत्व मिर्चैयाका निवर्तमान मेयर श्रवण कुमार यादवले गरिरहेका छन् भने अर्को खेमाको नेतृत्व प्रदेश सांसद दिलीप साहले गरिरहेका छन् ।
मिर्चैयाको मेयरका रुपमा पाँच वर्ष बिताइसकेका यादवप्रति सर्वसाधारणमा व्यापक असन्तुष्टि छ । त्यसमा पनि झन् पार्टीले उनैलाई टिकट दिएपछि पार्टीभित्रै व्यापक विवाद देखिएको छ । आसन्न ३० गतेको निर्वाचनमा असन्तुष्ट खेमाले उनलाई सहयोग नगर्ने देखिन्छ ।
जसपाको विवाद पनि उत्कर्षमा छ । जसपाबाट मिर्चैयाको मेयरमा रामकुमार मण्डल चुनावी प्रतिस्पर्धामा छन् । यसअघि मेयरमा चुनाव लड्ने चर्चामा रहेका जसपाका स्थानीय नेता रामदयाल यादवले समेत उम्मेदवारी दिएपनि पार्टीले मण्डललाई आधिकारिकता दिएपछि यादवको खेमा चुनावी गतिविधिबाटै निस्क्रिय जस्तै छन् ।
जसपामा मण्डलभन्दा यादव बढी जनाधार भएका नेता मानिन्थे । तर, पार्टीले अन्याय गरेको ठहर गरेको सो खेमाले मण्डललाई नसघाउने निश्चित छ । अब कुरा गरौं कांग्रेसको । कांग्रेस यसअघिको स्थानीय निर्वाचनमा मिर्चैयामा दोश्रो दल बनेको थियो ।
चुनाव आफ्नो पोल्टामा पार्ने विश्वाससहित चुनावमा होमिएपनि उसले जित हात पार्न सकेन । तर, यसपालि कांग्रेसले विगतलाई बिर्सेर एकढिक्का भई चुनावी गतिविधि गरिरहेको छ । कांग्रेसले विगत पाँच वर्षमा आफूलाई यहाँ सांगठनिक रुपमा पनि बलियो बनाएको छ ।
यसकारण फ्रेस भएर निर्वाचनमा होमिएको कांग्रेसलाई यसपालिको निर्वाचनमा यहाँ चौतर्फी फाइदा हुने देखिन्छ । कांग्रेसले मिर्चैयाको मेयरको उम्मेदवारका रुपमा यसअघिको निर्वाचनमा समेत उम्मेदवार बनेका सीताराम यादव र उपमेयरको उम्मेदवारका रुपमा यस क्षेत्रका कांग्रेसका स्वर्गीय नेता मिश्री साहकी बुहारी तथा मिर्चैया ६ का वडाध्यक्ष देवकृष्ण साहकी पत्नी अनिता साहलाई उम्मेदवार बनाएको छ ।
नगरपालिकालाई शान्त, सुरक्षित र विकसित गर्ने योजना आफूहरुसँग मात्रै भएको र यो काम आफूहरुले मात्रै गर्न सक्ने दावीसहित चुनावी गतिविधिमा व्यस्त कांग्रेसी नेताहरु यसपालिको निर्वाचनमा आफूहरू जनताबाट अनुमोदित हुनेमा ढुक्क देखिन्छन् ।
नेकपा एमालेको संगठन यहाँ मजबुत रहेको देखिँदैन । राप्रपा पनि सांगठनिक रुपमा कमजोर छ ।














