काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको रिटमा आज (मंगलबार) सुनुवाइ हुँदै छ ।
सुनुवाइका लागि न्यायाधीशहरू मीरा खड्का र डा.कुमार चुडालको संयुक्त इजलासमा पेसी तोकिएको छ ।
घिसिङविरुद्ध प्राधिकरणकै कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले १ भदौमा वारेसमार्फत सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
रिटमार्फत शाक्यले २४ साउनमा घिसिङलाई कार्यकारी निर्देशक बनाउन सरकारले गरेको निर्णयलाई उत्प्रेषणको आदेशमार्फत बदर गर्न माग गरेका छन् ।
आफ्नो पदावधि नसकी हटाउने मन्त्रिपरिषद्को निर्णय गैरकानुनी भएको शाक्यको जिकिर छ । उनी २७ माघ २०७७ मा कार्यकारी निर्देशक नियुक्त भएका थिए । चार बर्से अवधि भए पनि उनी ६ महिनामै उक्त पदबाट हटाइएका थिए । त्यसपछि उनी सर्वोच्च पुगेका हुन् ।
तर, शाक्यको मागअनुसार गत ५ असोज ५ गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले घिसिङलाई कार्यकारी निर्देशक पदबाट हटाउने सरकारको निर्णय बदर नगरी कारण देखाउ आदेश जारी गरेको थियो ।