सिराहा । ग्रीन मिडिया नेटवर्क प्रा.लि. द्वारा सञ्चालित ग्रीन ई-टेलिभिजन औपचारिक रूपमा सञ्चालनमा आएको छ।
मिसन पत्रकारिताको मूल उद्देश्यसहित सञ्चालनमा ल्याइएको यो मिडिया हाउसको उदघाटन कुनै जनप्रतिनिधि वा नेताबाट नगरी, सञ्चालक सञ्जय यादवका पूज्यनीय आमा-बुबाको हातबाट रिबन काटी गरिएको हो। यो संगै न्यू संकल्प राष्ट्रिय दैनिक पत्रिका पनि प्रकाशनमा आएको छ । कार्यक्रम पारिवारिक तथा सांस्कृतिक माहोलमा सम्पन्न भएको थियो।
यस अवसरमा सञ्चालक यादवले ग्रीन ई-टेलिभिजन र न्यूसंकल्प राष्ट्रिय दैनिकले तथ्य, सत्य र निष्पक्ष समाचार प्रस्तुत गर्दै जनताको पक्षमा दृढतापूर्वक कलम चलाउने प्रतिबद्धता व्यक्त गरे। उनले मिडियालाई राजनीतिक हस्तक्षेपबाट टाढा राख्दै समाजको वास्तविक आवाज उजागर गर्न प्रतिबद्ध रहने बताए।